Facebook
Twitter
Google Plus
Message

२०७४ असार २९ गते , विहीवार प्रकाशीत

साहित्य साधकलाई भानु सम्मान


विराटनगरःआदिकवि भानुभक्त आचार्यको २ सय ४ औं जन्मजयन्तीको अवसर पारेर भानु कला केन्द्र र भानु–मोरङ सांस्कृतिक समितिले विभिन्न क्षेत्रमा योगदान पुर्याउने आधा दर्जनभन्दा बढी व्यक्तिलाई सम्मान गरेको छ ।

समारोहमा दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय रहेबापत शंखर खरेललाई दोसल्ला ओढाएर केन्द्रले सम्मान गरेको थियो । खरेललाई अग्रज गीतकार डा. नवराज सुब्बा र मधुपर्क साहित्यिक मासिक पत्रिकाका सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ले दोसल्ला ओढाएर सम्मानपत्र समर्पण गरेका थिए । त्यस्तै समारोहमा गायक रामा मण्डल र देवी पन्थीलाई भानुपदक प्रदान गरियो ।

समाजसेवी तिलकबहादुर थापालाई भानु समाजसेवा सम्मान, साहित्यकार तथा कलाकार उज्वल जिसीलाई वाणी–आशावादी कला सम्मान र साहित्यकार मान बज्राचार्यलाई भानु साहित्य सम्मानद्वारा विभूषित गरिएको थियो । कलाकार अनन्तकुमार राजवंशीलाई भानु कलाकारिता सम्मान प्रदान गरियो । उनीहरूलाई महानगरपालिकाका प्रमुख भीम पराजुली, साहित्यकार डा. नवराज सुब्बा, भानु–मोरङ सांस्कृतिक समितिकी अध्यक्ष माया पौडेललगायतले सम्मान गरेका थिए ।

भानु कला केन्द्रले तीन दशकभन्दा लामो समयदेखि कला, साहित्य, संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । अवसरमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, डा. तुलसी भट्टराई, प्राज्ञ दधिराज सुवेदी, पत्रकार एवं साहित्यकार मीनकुमार नवोदितलगायतले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा साहित्यमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा भानु कला केन्द्रका कलाकारहरू दीपेन्द्र थापा, मनोज राजवंशी, समीक्षा कार्की, प्रशंसा गौतम, अंकिता ढकाल, संगीता थापा, ओमप्रकाश बस्नेतलगायतले नृत्य प्रस्तुत गरेका थिए ।